काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद रतना कुमारी थापाले आफ्नो सचिवालयको जिम्मेवारी पूर्वपत्रकार धर्मेन्द्र बी.सी.लाई सुम्पिएकी छन्। थापाको स्वकीय सचिवका रूपमा अब बी.सी.ले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने भएका छन्।
लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका बी.सी. केही महिनाअघि मात्रै उच्च शिक्षा अध्ययनका लागि बेलायत पुगेर स्वदेश फर्किएका हुन्। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान सदस्यसमेत रहेका उनी अछामको ढकारीस्थित 'रेडियो हाम्रो जाल्पा एफएम' को नेतृत्व समेत सम्हालिसकेका अनुभवी व्यक्तित्व हुन्।
सञ्चार क्षेत्रको लामो अनुभव सँगालेका बी.सी.को यो नियुक्तसँगै उनको सक्रिय राजनीतिक यात्राको नयाँ अध्याय प्रारम्भ भएको छ। विशेषगरी अछाम क्षेत्र नम्बर २ का युवामाझ लोकप्रिय रहेका बी.सी.को राजनीतिक र प्रशासनिक अनुभवले सांसद थापाको सचिवालय व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।