अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिकाले बाढी पहिरोबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३३ लाख ३३ हजार ३३३ रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।
नगर कार्यपालिकाको मिति २०८३ भदौ १७ गते बसेको बैठकले उक्त राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। २०८३ भदौ १० गते रसुवा जिल्लाको सीमा क्षेत्र रसुवागढी तथा भोटेकोशी नदी तटीय क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन लगायतका जिल्लामा ठूलो धनजनको क्षति भएको थियो। राष्ट्रिय विपद्को यस घडीमा भौतिक पूर्वाधार पुनर्निर्माण, घाइतेहरूको उपचार तथा पुनःस्थापनामा सहयोग पुर्याउन उक्त रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार संकलित रकमको विवरण यस प्रकार छ:
* जनप्रतिनिधिहरूबाट: नगर प्रमुखको १५ दिन, नगर उपप्रमुखको १० दिन, वडा अध्यक्षको ७ दिन, कार्यपालिका सदस्यको ५ दिन र नगरसभा सदस्यको ३ दिन बराबरको सेवा सुविधा गरी जम्मा रु. १,२९,२३३/-
* कर्मचारीहरूबाट: अधिकृत स्तरको ७ दिन, सहायक चौथो र पाँचौँ तहको ५ दिन तथा श्रेणीविहीन कर्मचारीको २ दिन बराबरको तलबबाट रु. ७,०६,४१२/-
* शिक्षक तथा विद्यालय कर्मचारीहरूबाट: शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहजकर्तासमेतको तलब कट्टी गरी रु. २२,१२,००२/-
* प्रकोप व्यवस्थापन कोषबाट: नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट रु. २,८५,६८६/-
नगर प्रमुख अम्बिका चलाउने तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपत्तिमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।