काठमाण्डौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। यसै सन्दर्भमा नेपाल सरकारले हालसम्म प्रभावित क्षेत्रमा चालिएका उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यहरूबारे विस्तृत विवरण सार्वजनिक गरेको छ।
सरकारले बाढी प्रभावित क्षेत्रको स्थिति र हालसम्म भएका मुख्य कामहरूको प्रगति विवरण निम्नानुसार प्रस्तुत गरेको छ:
१. खोजी तथा उद्धार
- उद्धार संख्या: प्रतिकूल मौसम र विकट भूगोलका बाबजुद साढे पाँच बजेसम्म ७,५१४ जना नागरिकलाई हवाई र स्थलमार्गमार्फत सुरक्षित स्थानमा लगिएको छ।
- जलविद्युत् आयोजना: विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार गरिएको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाद्वारा खोजी जारी छ। उद्धार कार्यमा भारतीय र चिनियाँ विज्ञहरूले समेत नेपाली सेनासँग समन्वय गरिरहेका छन्।
- साधन र जनशक्ति: १६ वटा हेलिकप्टरमार्फत कुल २३६ वटा उडान भरिएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १८,७०८ जना सुरक्षाकर्मी खटिएका छन्। सुरक्षाकर्मीको प्रोत्साहन भत्ता तथा खाजा खर्चमा समेत वृद्धि गरिएको छ।
२. उपचार, स्वास्थ्य सेवा तथा मनोपरामर्श
- जटिल घाइतेहरूलाई काठमाडौं ल्याई उपचार भइरहेको छ भने सामान्य घाइतेहरूको उपचारका लागि रसुवाको धुन्चे र नुवाकोटको बट्टारमा नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल सञ्चालन गरिएको छ।
- धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेलिप्याड क्षेत्रसहित ५ स्थानबाट स्वास्थ्य सेवा प्रदान गरिँदै छ।
- अस्पतालहरूमा रगतको सहज उपलब्धताका लागि ‘रक्त सूचना पोर्टल’ सञ्चालनमा ल्याइएको छ। घाइते तथा उनीहरूका परिवारका लागि विशेष मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको छ।
३. नागरिक व्यवस्थापन तथा राहत वितरण
- विस्थापित नागरिकहरूको व्यवस्थापनका लागि रसुवामा ३ र नुवाकोटमा १५ वटा राहत शिविर स्थापना गरिएको छ। विद्यालय तथा सार्वजनिक भवनहरूमा करिब ३,५०० जनालाई अस्थायी आवासको व्यवस्था मिलाइएको छ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत ५ जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ।
- प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा हालसम्म नेपाली रुपैयाँतर्फ ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ तथा अमेरिकी डलरतर्फ १८ लाख ८ हजार १८९ डलर जम्मा भएको छ। सहयोगका लागि आधिकारिक ‘क्युआर कोड’ र बैंक खाता प्रयोग गर्न सरकारले आग्रह गरेको छ।
४. अन्तर्राष्ट्रिय सहयोग
विपद् व्यवस्थापनका लागि विभिन्न दातृ निकाय तथा देशहरूबाट सहयोग प्राप्त हुने क्रम जारी छ:
- एशियाली विकास बैंक (एडीबी): बजेटरी अनुदान ५ मिलियन अमेरिकी डलर र प्राविधिक सहायता १ लाख ५० हजार अमेरिकी डलर।
- विश्व बैंक: १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा।
- अन्तर्राष्ट्रिय अनुदान: अमेरिकी सरकारबाट ५ लाख, अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर र स्वीट्जरल्याण्डबाट १ मिलियन स्वीस् फ्र्याङ्क।
- मानवीय सहायता: भारत सरकारबाट ३ चरणमा ५७.५ टन मानवीय सहायता तथा औषधि प्राप्त भएको छ। साथै, चीन र भारतबाट शव व्यवस्थापनका लागि २/२ हजार ‘एयर टाइट ब्याग’ र चीनबाट ३० वटा बेलीब्रिज सहयोगका लागि अनुरोध गरिएको छ।
५. सञ्चार सम्पर्क तथा वैकल्पिक सडक सञ्चालन
- बाढीले अवरुद्ध बनाएका नेपाल टेलिकमका ३८ र एनसेलका २७ टावरमध्ये इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरी टेलिकमका ९० र एनसेलका ७१ वटा टावर पुनः सञ्चालनमा ल्याइएको छ।
- काठमाडौं–टोखा–छहरे–धुन्चे सडकखण्ड तथा गल्छी–मलेखु र धादिङबेसी जाने वैकल्पिक सडकहरू मर्मत गरी चारपाङ्ग्रे साना सवारीसाधन तथा यातायात सञ्चालनमा ल्याइएसँगै प्रभावित क्षेत्रहरू पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन्।
६. शव व्यवस्थापन
- विभिन्न स्थानमा फेला परेका ६७५ वटा शवलाई ‘एयर टाइट ब्याग’मा राखी ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिएको छ। परिवारले पहिचान गरेका शवहरू सम्बन्धित परिवारलाई जिम्मा लगाइएको छ भने पहिचान नभएका शवहरूको डीएनए परीक्षणलगायतका पहिचानका आधारहरू सुरक्षित राखिएको छ।
नेपाल सरकारले विपद्को यस कठिन घडीमा धैर्यता र सहयोगका लागि सम्पूर्ण नागरिक, सुरक्षाकर्मी तथा संघसंस्थाहरूलाई धन्यवाद ज्ञापन गरेको छ। साथै, सत्य–तथ्य सूचना सम्प्रेषण गर्न आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गर्दै प्रभावितहरूको उद्धार र पुनःस्थापना कार्य नतिजा नआएसम्म निरन्तर जारी रहने प्रतिबद्धता जनाएको छ।