घोराही, १ भदौ । दाङमा खाना पकाउने एलपी ग्यासको अभावका कारण लामो समयदेखि घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङमा सोमबार भएको सर्वपक्षीय छलफलले अब ग्यास खरिदका लागि उपभोक्ताहरू कुनै पनि स्थानमा लाइनमा बस्न नपर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेको अगुवाइमा भएको छलफलले जिल्लाका सम्पूर्ण ग्यास उपभोक्तालाई आफूलाई पायक पर्ने नजिकको ग्यास विक्रेतासँग आफ्नो नाम टिपाएर ग्यास खरिदका लागि कुपन लिन अनुरोध गरेको छ। ग्यास वितरणलाई व्यवस्थित, पारदर्शी र वास्तविक उपभोक्तामैत्री बनाउन विक्रेताले ग्राहकको विवरण व्यवस्थित रूपमा राख्नुपर्ने निर्णयसमेत गरिएको छ।
बैठकमा सहभागी घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनका अनुसार प्रत्येक विक्रेताले आफ्ना ग्राहकको नाम, ठेगाना र फोन नम्बरको विवरण पारदर्शी रूपमा राखेर सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। यसबाट एउटै व्यक्तिले पटक–पटक ग्यास लिने, पहुँचका आधारमा वितरण हुने तथा वास्तविक उपभोक्ता ग्यासबाट वञ्चित हुने समस्या नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
“अब ग्यास लिनका लागि उपभोक्ताहरूले घन्टौँ लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ। नजिकको विक्रेतासँग नाम टिपाएर कुपन लिने र पालोअनुसार ग्यास पाउने व्यवस्था लागू हुन्छ,” प्रियासनले बताउनुभयो।
बैठकले ग्यास बिक्री लाइनबाट नगर्ने भएकाले उपभोक्तालाई कुनै पनि स्थानमा गएर लाइनमा नबस्नसमेत आग्रह गरेको छ। ग्यास वितरण प्रक्रियालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयको अगुवाइमा स्थानीय तह, सुरक्षा निकाय, ग्यास विक्रेता, उद्योग व्यवसायी, सञ्चार क्षेत्र तथा नागरिक अभियानहरूको सहभागितामा नियमित अनुगमन तथा निगरानी गर्ने निर्णय भएको छ।
ग्यास अभावका कारण उपभोक्ताले भोग्दै आएको समस्या समाधानका लागि प्रशासनले समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। बैठकमा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले उपभोक्ताको वास्तविक समस्या पहिचान गरी वितरण प्रणालीलाई व्यवस्थित बनाउन स्थानीय तहबाट आवश्यक सहयोग गर्ने धारणा राखेका थिए। ग्यास विक्रेताहरूले पनि उपलब्ध ग्यासलाई व्यवस्थित र पारदर्शी रूपमा वितरण गर्न आफूहरू तयार रहेको बताएका थिए।
यसअघि ग्यास वितरणमा देखिएको अव्यवस्था, लामो लाइन र वास्तविक उपभोक्ताले ग्यास नपाउने समस्यालाई समाधान गर्न घोराही बनाऔँ अभियानले पहल गरेको थियो।
अभियानका संयोजक सविन प्रियासनको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकामा ग्यास बिक्री तथा वितरणलाई सहज र व्यवस्थित बनाउन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रमा उपभोक्ता पहिचान गरी व्यवस्थित प्रणालीमार्फत ग्यास वितरण गर्नुपर्ने माग गरिएको थियो।
यसैगरी राष्ट्रिय जनमोर्चा दाङले पनि ग्यासको सहज आपूर्ति र वितरणको व्यवस्था मिलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ। जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले उपभोक्ताले भोग्दै आएको समस्या तत्काल समाधान गर्न प्रशासनको ध्यानाकर्षण गराएको हो।
सर्वपक्षीय छलफलमा स्थानीय पालिकाका प्रतिनिधि, ग्यास विक्रेता, नेपाल पत्रकार महासङ्घ, दाङ जिल्ला उद्योग वाणिज्य संघ, घोराही बनाऔँ अभियानलगायत विभिन्न संघसंस्था तथा सरोकारवाला पक्षको सहभागिता थियो।
बैठकले ग्यास वितरणसम्बन्धी नयाँ व्यवस्थाबारे आम उपभोक्तालाई जानकारी गराउन सूचना व्यापक रूपमा प्रकाशन तथा प्रसारण गर्ने निर्णयसमेत गरेको छ।
प्रशासनले नयाँ व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन गर्ने भएपछि लामो समयदेखि ग्यासका लागि लाइनमा बस्न बाध्य उपभोक्ताले राहत पाउने अपेक्षा गरिएको छ।