अछाम : अछामको पञ्चदेवल विनायक नगरपालिकामा समयमै पशु चिकित्सक तथा प्राविधिक सेवा नपाउँदा किसानहरू गम्भीर समस्यामा परेका छन्। नगरभित्र एक सुत्केरी हुन लागेको भैँसी विगत एक सातादेखि थला पर्दा समेत उचित उपचार नपाएको भन्दै स्थानीय किसानले तीव्र आक्रोश व्यक्त गरेका छन्।
किसानका अनुसार यसै महिना ब्याउने (बच्चा पाउने) तयारीमा रहेको उक्त भैँसी बिरामी परेको एक हप्ता बितिसकेको छ। हाल भैँसीले घाँस–पानी खान छोडेको छ भने दिशा–पिसाब समेत बन्द भएको छ। यस्तो संवेदनशील अवस्थामा पनि नगरपालिकाको पशु सेवा शाखाबाट प्रभावकारी उपचार र प्राविधिक सहयोग नपाएको पीडित किसानको गुनासो छ।
स्थानीय बासिन्दाहरूले नगरपालिकाको पशु स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न उठाएका छन्। "नगरपालिकामा पशु विज्ञ डाक्टरहरू छन् कि छैनन्? पशु बिरामी हुँदा उपचार नदिने, अनि गाईभैँसी मरेपछि रेबिज लागेर मरेको भनी प्रमाणित गर्ने मात्र विज्ञ डाक्टर हुन्?" भन्दै स्थानीयले प्रश्न गरेका छन्।
समयमै उपचार नपाए लाखौँको क्षति व्यहोर्नुपर्ने भन्दै किसानहरूले तत्काल दक्ष पशु चिकित्सक खटाएर बिरामी भैँसीको उपचार गर्न र नगरभित्र आकस्मिक पशु सेवा प्रभावकारी बनाउन नगरपालिकाको ध्यानाकर्षण गराएका छन्।