काठमाण्डौँ : पञ्चदेवल विनायक नगरपालिका–२ का तत्कालीन वडाध्यक्ष पदमबहादुर धामी हत्या प्रकरणमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका चार जनासहित मुद्दामा प्रतिवादी बनाइएका सबैले सर्वोच्च अदालतबाट सफाइ पाएका छन्।
सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले धामी हत्या मुद्दामा जिल्ला अदालतबाट भएको फैसला उल्टाउँदै सबै प्रतिवादीलाई सफाइ दिएको हो।
२०७६ माघ २० गते राति पञ्चदेवल विनायक नगरपालिका–२ स्थित भैँसीगोठमा तत्कालीन वडाध्यक्ष धामी मृत अवस्थामा फेला परेका थिए। घटनापछि उनका भाइ सुरतबहादुर धामीले नौ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए।
घटनाको अनुसन्धानपछि मुद्दा अदालत पुगेको थियो। अछाम जिल्ला अदालतले प्रेमबहादुर धामी, जीवन धामी, रमेशबहादुर धामी र धर्मबहादुर धामीलाई धामीको हत्यामा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो। मुद्दामा प्रतिवादी बनाइएका अन्य पाँच जनालाई भने जिल्ला अदालतले सफाइ दिएको थियो।
जिल्ला अदालतको उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार जिल्ला अदालतको फैसला उल्टाएको हो। सर्वोच्चको फैसलासँगै जन्मकैदको सजाय पाएका चार जनाले समेत हत्याको अभियोगबाट सफाइ पाएका छन्। यससँगै धामी हत्या प्रकरणमा प्रतिवादी बनाइएका नौै जनामाथि नै हत्या कसुर कायम नरहने भएको छ।
धामी नेपाली कांग्रेसबाट पञ्चदेवल विनायक नगरपालिका–२ को वडाध्यक्षमा निर्वाचित भएका थिए। उनको मृत्युको घटना त्यसबेला अछाममा निकै चर्चित बनेको थियो। घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयस्तरमा विभिन्न विरोध तथा दबाबका कार्यक्रमसमेत भएका थिए।
जिल्ला अदालतको फैसलाबाट चार जनाले जन्मकैदको सजाय पाएको वर्षौँपछि सर्वोच्च अदालतबाट सबै प्रतिवादीले सफाइ पाएसँगै यो मुद्दाले न्यायिक रूपमा नयाँ मोड लिएको छ।
सर्वोच्चको आजको फैसलापछि धामी हत्या प्रकरणमा जिल्ला अदालतको दोषी ठहर गर्ने फैसला पूर्णतः उल्टिएको छ।