विनायक, अछाम पञ्चदेवल विनायक नगरपालिकाको मुख्य बजार क्षेत्रको सुरक्षा व्यवस्था अहिले भगवान भरोसामा रहेको पाइएको छ। बजारका विभिन्न संवेदनशील क्षेत्रमा जडान गरिएका दर्जनौं सीसीटिभी (CCTV) क्यामेराहरू मध्ये मात्र २ वटा सञ्चालनमा रहनु र बाँकी सबै 'कवाड' मा परिणत हुनुले नगरपालिकाको गम्भीर लापरवाही उदाङ्गो पारेको छ।
प्रहरीलाई सुरक्षा दिनै सकस
इलाका प्रहरी कार्यालय विनायकले बजारको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै बिग्रिएका क्यामेरा मर्मतका लागि नगरपालिकालाई बारम्बार आग्रह गर्दै आएको छ। तर, सुरक्षा निकायको यस्तो गम्भीर अनुरोधलाई समेत नगरपालिकाले लामो समयदेखि रद्दीको टोकरीमा फाल्दिँदा प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न र आपराधिक घटनाको अनुसन्धान गर्न फलामको चिउरा चपाउनु सरह भएको छ।
के २ क्यामेराले पुग्छ विनायक बजारलाई?
लाखौंको लगानीमा जडान गरिएका उपकरणहरू मर्मत नगरेर सडकमा शो-पिसका रूपमा झुण्ड्याइनु जनताको करको अपमान मात्र नभई अपराधलाई प्रोत्साहन दिनु पनि हो। मात्र २ वटा क्यामेराले सिङ्गो बजारको गतिविधि समेट्न असम्भव छ। यसले गर्दा बजारमा चोरी, तस्करी र उच्छृङ्खल गतिविधि गर्नेहरूका लागि 'सेफ जोन' बन्दै गएको स्थानीय व्यवसायीहरूको गुनासो छ।
हाम्रो प्रश्न:
१. प्रहरीले बारम्बार आग्रह गर्दा पनि नगरपालिकाले क्यामेरा मर्मतमा किन बजेट छुट्याउँदैन?
२. के नगरपालिका कुनै ठूलो दुर्घटना वा आपराधिक घटना घटेको प्रतिक्षामा बसेको हो?
३. जनताको सुरक्षामा गरिएको यो खेलबाडको जिम्मेवारी कसले लिने?
तत्काल समाधानको माग
विनायक बजारका स्थानीय र व्यवसायीहरूले यो समस्यालाई तत्काल समाधान गर्न र बन्द रहेका सबै क्यामेराहरू तुरुन्त सञ्चालनमा ल्याउन माग गरेका छन्। अन्यथा, सुरक्षाको अभावमा हुने कुनै पनि अप्रिय घटनाको जिम्मेवार नगरपालिका स्वयं हुनुपर्ने उनीहरूको भनाइ छ।