अछाम । आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा अछाम क्षेत्र नम्बर १ मा एउटा पुरानो तर गम्भीर नैतिक प्रश्नले राजनीतिक समीकरणलाई नै प्रभावित पार्ने देखिएको छ। नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका दीपक साउदमाथि ७-८ वर्ष अगाडिको यौन दुर्व्यवहार र अनैतिक व्यवहारको आरोप सार्वजनिक भएपछि स्थानीय स्तरमा बहस तातिएको हो।
स्थापित पत्रकार मेनुका ढुंगानाले सामाजिक सञ्जालमार्फत साउदको विगतको "मुखुण्डो" उतार्ने चेतावनी दिएसँगै यो विषयले राजनीतिक रूप मात्र लिएको छैन, बरु सार्वजनिक पदमा पुग्ने व्यक्तिको चरित्र कस्तो हुनुपर्छ भन्ने गम्भीर बहस समेत सिर्जना गरेको छ।
'बहिनी' भन्दै अनैतिक प्रस्ताव: के हो घटना?
पत्रकार मेनुका ढुंगानाका अनुसार, करिब ७/८ वर्षअघि दीपक साउदले 'बहिनी' को नाता गाँसेर उनीमाथि अनैतिक र यौनजन्य प्रस्ताव राखेका थिए। ढुंगानाले सामाजिक सञ्जालमा लेखेकी छन्, "बहिनी भन्दै केटी मान्छेलाई प्रयोगको वस्तु ठानेर अनैतिक प्रस्ताव राख्ने एक जना ठूलै कथित नेता चुनाव लड्दै रहेछ।" सोही समयमा उनले साउदलाई काठमाडौँको नयाँ बानेश्वर चोकमा चप्पलले हानेको चर्चा समेत चल्दै आएको छ, जसलाई अहिलेको खुलासाले थप बल पुर्याएको छ। ढुंगानाले अगाडि लेखेकी छन्, "अछामको चौखुट्टेमा राजनीति गर्न आएँ भनेर पाइला टेकिस् भने तेरो मुखुण्डो उतारिदिन्छु भनेको थिएँ, अहिले त्यो समय आएको छ।"
झपट बोहराको त्यो 'राँगो' वाला भाषण र रोष्ट्रमको झल्को
यस घटनालाई थप पुष्टि गर्ने अर्को बलियो आधार सुदूरपश्चिम प्रदेश सभाको संसदीय रेकर्डमा भेटिन्छ। तत्कालीन आर्थिक मामिला मन्त्री झपट बोहराले प्रदेश सभाको रोष्ट्रममै उभिएर दीपक साउदको व्यवहार र चरित्रलाई लक्षित गर्दै "सतार राँगो" को उपमा दिएका थिए।
ढुंगानाले सोही सन्दर्भलाई कोट्याउँदै प्रश्न गरेकी छन्, "अहिले कथित पात्र दूधले नुहाएर शुद्ध भयो कि झपट दाई? राँगै हो भनेर रोष्ट्रम फुट्ने गरी तपाईंले भाषण गर्दा तपाईंले भनेकै मान्छेको चरित्र म झल्झली सम्झिरहेको छु।"
मदन भूल: 'साक्षी' कि 'मौन दर्शक'?
यस गम्भीर घटनामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य मदन भूललाई 'साक्षी' का रूपमा उभ्याइएको छ। पत्रकार ढुंगानाले भूललाई सम्बोधन गर्दै यो घटना बिर्सनुभयो कि सम्झिँदै हुनुहुन्छ भन्दै सार्वजनिक प्रश्न गरेकी छन्। यदि मदन भूलले यसबारे मुख खोलेमा साउदमाथिको आरोपले कानुनी र नैतिक रूपमा झनै ठूलो मोड लिने निश्चित छ।
राजनीतिक अवसरवाद र आन्तरिक कलह
दीपक साउदको राजनीतिक यात्रा पनि उत्तिकै अस्थिर देखिन्छ। माओवादी हुँदै जनार्दन शर्मा नेतृत्वको पार्टीबाट हालै मात्र एमाले प्रवेश गरेका साउदले पार्टीका पुराना नेता झपट बोहराको टिकट खोसेर उम्मेदवारी सुरक्षित गरेका थिए। एमालेभित्रै भीम रावल र झपट बोहरा पक्षधर कार्यकर्ताहरू साउदको उम्मेदवारीलाई लिएर सन्तुष्ट देखिँदैनन्। निर्वाचनको संघारमा लागेको यो नैतिक कलङ्कले उनलाई थप रक्षात्मक बनाएको छ।
निष्कर्षमा: नैतिकता कि शक्ति?
अछाम-१ का मतदाताहरू अहिले एउटा दोसाँधमा छन्। एकातिर पार्टीको टिकट छ भने अर्कोतिर उम्मेदवारको विवादित विगत। जब एक महिला र स्थापित पत्रकारले सार्वजनिक रूपमा यौन दुर्व्यवहारको दाबी गर्छिन्, तब त्यसको जवाफदेहिता आरोपित उम्मेदवार र उनलाई टिकट दिने पार्टीले दिनुपर्ने देखिन्छ।
यो समाचार तयार पार्दासम्म आरोपित दीपक साउदको तर्फबाट कुनै आधिकारिक खण्डन आएको छैन। के अछामका मतदाताले यस्तो गम्भीर आरोप लागेका पात्रलाई आफ्नो प्रतिनिधिका रूपमा स्वीकार गर्लान्? यो त निर्वाचनको नतिजाले नै बताउनेछ।