अछाम: यस वर्षको अछाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अछामको पूर्वी क्षेत्रस्थित पञ्चदेवल विनायक नगरपालिकामा आयोजना हुने भएको छ। प्रतियोगिता पञ्चदेवल क्याम्पसको खेलमैदानमा सञ्चालन गरिने तय भएको छ।
प्रतियोगिता सञ्चालन हुने स्थलको अवस्थाबारे जानकारी लिन पञ्चदेवल विनायक नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले शुक्रबार स्थलगत अनुगमन गरेकी छन्। अनुगमनका क्रममा नगर प्रमुख चलाउनेले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारीलाई तीव्रता दिइने बताइन्।
जिल्ला स्तरीय उक्त प्रतियोगितामा अछामका १० वटै स्थानीय तहबाट विद्यालय तहका खेलाडी तथा टिमहरूको सहभागिता रहने जनाइएको छ। माघ महिनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न खेल विधामा विद्यार्थी खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय क्षेत्रबाट उदीयमान खेलाडीहरूको प्रतिभा पहिचान गर्न र भविष्य निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस प्रतियोगिताबाट छनोट भएका खेलाडीहरूले प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।
जिल्ला खेलकुद विकास समिति र स्थानीय तहको सहकार्यमा आयोजना हुने यस प्रतियोगिताले अछाम जिल्लामा खेलकुद विकास र युवा प्रतिभा प्रोत्साहनमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
तस्बिर: पहाड खबर
