कुइकास्थित जाल्पेश्वरी माध्यामिक विद्यालय जाने बाटो जनश्रमदानमार्फत सुधार



अछाम । पञ्चदेवल विनायक नगरपालिका–१ कुइकास्थित श्री जाल्पेश्वरी माध्यमिक विद्यालय जाने बाटो स्थानीय शिक्षक र अभिभावकहरूको सक्रिय सहभागितामा आज जनश्रमदानमार्फत मर्मत तथा सुधार गरिएको छ।


मध्य पहाडी राजमार्गदेखि विद्यालयसम्मको आवागमनमा लामो समयदेखि कठिनाइ हुँदै आएको उक्त बाटो सामूहिक श्रमदानमार्फत सहज र सुरक्षित बनाइएको हो।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर देवकोटाको पहलमा सम्पन्न उक्त कार्यमा स्थानीय शिक्षक र अभिभावकको सक्रियता देखिएको थियो। विद्यालय प्रशासनले देखाइएको सहयोगप्रति आभार व्यक्त गर्दै यस किसिमका सामूहिक पहलहरूले विद्यालय र समुदायबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेको छ।


साथै, स्थानीयहरूले यस्ता कार्यलाई आगामी दिनमा स्थानीय निकायले पनि प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्। 





Comments